फुटबल प्रतियोगिताअन्तर्गत २०२०–२१ मा क्लब र राष्ट्रका लिगहरू सकिसकेका छन् । दुवै प्रकारका लिगमा गरेको प्रदर्शनका आधारमा अब, खेलाडीहरूले पाउने व्यक्तिगत उपलब्धिको तय लाग्न थालेको छ । यस्तैमा, फुटबलकै सर्वाधिक प्रतिष्ठत अवार्ड बालोन डी‘ओरतर्फ धेरैको ध्यान आकर्षित भएको छ । फ्रान्स फुटबल महासङ्घले दिने उक्त अवार्डमा यस पटक कोपा अमेरिका र युरो कपको विजेता टिमका खेलाडीलाई दाबेदारका रूपमा हेरिएको छ ।
१ लियोनल मेस्सी
अर्जेन्टिनाबाट पहिलो पटक उपाधि जितेका कप्तान लियोनल मेस्सीलाई यसपटक प्रबल दाबेदारका रूपमा हेरिएको छ । ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जित्दै मेस्सीले आफ्नो राष्ट्रको २८ वर्षे उपाधिविहीन यात्रालाई पनि बिट मारे ।
त्यसबाहेक प्रतियोगिताकै उत्कृष्ट ठहरिएका मेस्सी अब सातौँ पटक बालोन डी‘ओर जित्ने अपेक्षामा छन् । यस वर्षका ४७ खेलमध्ये मेस्सीले ३८ गोल र ३४ असिस्ट गरेका छन् र २६ खेलमा मेस्सी म्यान अफ द म्याचसमेत घोषणा भएका छन् ।
उनले ला लिगाको सर्वाधिक गोलकर्ता बनेर पिचिची अवार्ड हात पारे । कोपा अमेरिकामा सबैभन्दा धेरै चार गोल र पाँच असिस्ट गरे । उनले यस समर अर्जेन्टिनाका लागि १२ गोलमा योगदान दिए । त्यस्तै, बार्सिलोनाबाट उनले कोपा डेल रे पनि जिते । ला लिगा र च्याम्पियन्स लिग भने उनको पकडभन्दा टाढा रह्यो ।
२। जोर्गिन्हो
प्रिमियर लिग क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्गिन्हो पनि मुख्य दाबेदारकै रूपमा छन् । इटालीलाई युरो कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका उनले च्याम्पियन्स लिग पनि जितेका छन् । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै इटालीले उपाधि जितेको थियो । उनको पेनाल्टी मिस भएको थियो । म्यानचेस्टर सिटीसँगको फाइनल खेलमा भने उनको प्रदर्शन तारिफयोग्य थियो । यसैले पनि उनको सम्भावना धेरै रहेको देखिएको छ ।
३। ह्यारी केन
इङ्ग्ल्यान्डका कप्तान केनले टोलीलाई युरो कप २०२० को उपाधि जिताउन हरसम्भव कोसिस गरे । तर फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा इङ्ग्ल्यान्ड स्तब्ध हुनपुग्यो । उक्त प्रतियोगितामा चार गोल गरेका केनले फाइनलमा पेनाल्टीमा गोल गरे पनि टोली पराजित भएको थियो ।
केन त्यस्ता अभागी खेलाडी हुन्, जसले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेपनि उपाधि जित्न पाएका छैनन् । टोटनह्याम हटस्परका कप्तान केनलाई यस पटक बालोन डी‘ओरको दाबेदार खेलाडीका रूपमा लिइन्छ ।
४। रोबर्ट लेवान्डोस्की
पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले युरोपियन च्याम्पियनसिपमा समूह चरणबाट अगाडि बढ्न पाएनन् । तर बायर्न म्युनिखमा उनको प्रदर्शन राम्रो रह्यो । २०२०–२१ मा उनले २९ खेलमा ४१ गोल गोल गरे ।
५। जर्जियो चेइलिनी
इटालियन डिफेन्डर चेइलिनीलाई पनि यसटक बालोन डी‘ओरको दाबेदारका रूपमा लिइन्छ । क्लबका लागि खासै प्रभावकारी खेल पस्किन नसकेपनि भेट्रान डिफेन्डर चेइलिनीले इटालीलाई युरोपियन च्याम्पियन बनाउन अतुलनीय भूमिका निभाए । युभेन्टसबाट भने उनी यसपटक सिरी ‘ए’ जित्न असफल बने ।




