रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्साका फिन्जो तामाङले एक वर्षअगाडि रोजगारीका लागि विदेश जाने योजना बनाए । घरमा काम नहुने र परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनलाई विदेश गएर पैसा कमाउने हुटहुटी जाग्यो । उनका आफन्त पनि विदेशमा रहेको र राम्रो कमाइ हुने सुनेका उनले युएईमै रहेका आफन्तमार्फत प्रक्रिया अगाडि बढाए । आफन्तकै सल्लाहअनुसार उनी म्यानपावर कम्पनी पुगे ।
कोरोना महामारीका कारण नयाँ कामदारको माग आएको थिएन । यस्तो अवस्थामा कम्पनीले राम्रो काम र तलबको प्रलोभन त दियो, तर भिजिट भिसामा जानुपर्ने सर्त राखियो । घरमा आम्दानी नभएका तामाङलाई विदेश पुग्नु थियो । ‘सबै कागतपत्र दुबईमै बन्छ, यहाँबाट मात्र सो मुलुक पुग्नुपर्ने हो’ भनी म्यानपावरले भनेको पत्याएका उनले सोहीअनुसार गरे ।
नेपालमा म्यानपावर कम्पनीले उनीबाट एक लाख ८० हजार रुपैयाँ लिएको थियो । तामाङ मात्र होइन, यो प्रक्रियामा नौकुण्ड गाउँपालिका–३ का बेले पनि म्यानपावर कम्पनीलाई यसैगरी पैसा बुझाए । नेपालमा रहँदा मजदुरी गरेर जीविका चलाउँदै आएका उनी नियमित काम नपाएपछि विदेश गएर धेरै पैसा कमाउने सोच बनाए । म्यानपावर कम्पनीले पनि राम्रो कमाइ हुने प्रलोभन देखायो । कोरोना महामारीका कारण नेपालमा काम पाउने अवस्था नदेखिएकाले दिक्क भई विदेश जाने योजना बनाएर गएको घलेले बताए ।
तामाङ र घलेसहित नौकुण्ड गाउँपालिका का ६ जना युवा गत २४ डिसेम्बरमा वैदेशिक रोजगारीका सिलसिलामा दुबई प्रस्थान गरेका थिए । तर, उनीहरू चार महिना नबित्दै स्वदेश फर्किसकेका छन् । विदेश पुगेर पैसा कमाउने लक्ष्यसहित गएका उनीहरू पैसा कमाउनु त परै जाओस्, प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म ऋण बोकेर घर फर्र्किएका छन् ।




