करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ । बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । वैकल्पिक रुपमा रहेको किउल, पाल्चोक, दुवाचौर र मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ ।
हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हालिसकेको र अब मेलम्ची नगरपालिकाले दुई ठाउँमा ग्राभेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिए । मेलम्ची– ७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले चार लाख नगरले बजेट विनियोजन गरेको र मङ्गलबारबाट काम शुरु हुने बताए ।




