गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको विकट जिल्लामा बाढीले पुर्याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिकाको क्षतिग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।
बाढीप्रभावित क्षेत्रमा बाढीपिडितसँग बोल्दै मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै मनाङमा भौतिक संरचनमा ठुलो क्षति भएकाले बाढीले पूर्ण क्षति पु¥याएका घर निर्माणका लागि प्रति घर दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मुख्यमन्त्री पोखरेलले बेसिसहर चामे सडक खुलाउन संघ सरकारले काम थालिसकेको र नासों गाउँपालिका २ खोत्रोसम्म गाडी चल्न थालिसकेको बताए ।
उनका अनुसार मनाङको माथिल्लो क्षेत्रमा समेत सडक पुननिर्माणको काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाए । संघ सरकारले मनाङलाई विपद संकटग्रस्त घोषणा गरिसकेको छ ।
जिल्लामा विभिन्न बस्तीको पुनर्निमाणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको उनको भनाइ थियो । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिसकेको छ । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले बाढी र पहिरो प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीनरुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताए ।
वडा नम्बर १ को ताल गाउँ वगरमा परिणत भएकोले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता जनाए । सोमबार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै कांग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी थिए । बाढीले नासोँ गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।
मनाङमा असार १ गते वर्षासँगै आएको बाढीले ८५ घर पुर्ण रुपमा क्षति भएको छ । बाढीका कारण नासोँ गाउँपालिकाको ९ वटै वडाहरु प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष घलेले बताए । बाढीले स्थानीयको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिन समेत बगाएको छ । मुल सडक र झोलुंगे पुल बगाएको छ ।
गोरेटो बाटो समेत हिँड्न सकिने अवस्थामा छैन । बाढीपहिरोका कारण दुई महिनादेखि मनाङ सडक, सञ्चार र बिजुलीबाट सम्पर्कबिच्छेद भएको छ ।




