अफगानिस्तानमा एक युवा फुटबल खेलाडीको अमेरिकी सैन्य विमानबाट खसेर मृत्यु भएको छ ।
जकी अनवर काबुलबाट निस्किएको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने कोसिस गरिरहेका बेला उनको मृत्यु भएको बताइएको छ ।
अफगानिस्तान प्रशासनले विमान चढ्ने कोसिसमा जकी अनवरको मृत्यु भएको पुष्टि गरेको छ ।
यद्यपि, उनको मृत्यु कहिले भयो, यसको जानकारी भने दिइएको छैन ।
१९ वर्षका जकी अनवरीले अफगानिस्तानको राष्ट्रिय युवा टिमका लागि खेलिसकेका छन् ।
अफगानिस्तानमा तालिबानको कब्जापछि केही दिन अघि हज्जारौं मानिसहरु देशबाट निस्कने कोसिसमा काबुलको हवाई अड्डामा जम्मा भएका थिए । यहाँबाट पश्चिमी देश आफ्ना नागरिक र अफगान सहकर्मीलाई देशबाट बाहिर निकालिरहेका थिए ।
काबुल विमानस्थलबाट सार्वजनिक भएका थुप्रै भिडियोमा थुप्रै मानिसहरु विमान सँगसँगै दौडिरहेको र विमानमाथि चढिरहेको देखिएका थिए । थुप्रै मानिसहरु विमानमा जबरजस्ती प्रवेश गर्ने कोसिस गरिरहेका थिए ।
स्थानीय मिडियाको रिपोर्ट अनुसार हवाई जहाज उडेपछि कम्तीमा दुई जनाको खसेर मृत्यु भएको छ ।
अफगानिस्तानको शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा एक बयान जारी गरेर जकी अनवरीलाई श्रद्धाञ्जली दिएको छ ।
महानिर्देशनालयले भन्यो, ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, साथी र साथी खेलाडीका लागि प्रार्थना गर्नुहोस् ।’




