कास्कीको ढिकुरपोखरी पोखरा बजार देखि २५ किलोमिटर टाढा पर्छ । दुरदराजको ढिकुरपोखरीको एउटा क्लबले भने सी डिभिजन खेल्ने जमर्को गरेको छ। अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन्।
तयारी आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले गरेका छन्। गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन्। माछापुच्छ्रे शिक्षा माविको खेल मैदानलाई केही स्तरोन्नति गरिएको छ। त्यही मैदानमा जेनतेन खेलाडीले सी डिभिजनको लागि प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षकको जिम्मेवारी सुविन श्रेष्ठले लिएका छन्। पाउँदुरकोटले यही भदौ २९ नयाँपाटी युथ क्लब९काठमाडौं० र असोज २ गते गोरक्ष स्पोर्टिङ क्लब ९काठमाडौं० सँग प्रतिस्पर्धा गर्नेछ। झण्डै एक महिनाको प्रशिक्षण गरेर टोली तयार गरिएको छ।
‘जितेर आएपनि सिकेर आएपनि खेलाडीलाई प्लेटफर्म पाउन भन्ने ध्येय हो,’ पाँउदुरकोट युवा क्लबका अध्यक्ष ईश्वर पौडेल शर्माले भने, ‘गाँउकै खेलाडी व्यवसायिकतर्फ उन्मुख होउन भन्ने चाहना हो।’ उनका अनुसार सी डिभिजन लिग खेल्ने खेलाडी सबै गाँउपालिका भित्रैका छन्। बजार क्षेत्रका युवाहरु सहभागिताको लागि आएपनि क्लबले गाँउपालिकाकै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रैका युवालाई प्रशिक्षण दिई टिम तयार गरिएको उनले बताए।
गाँउपालिकाले पनि टिमलाई सहयोगको प्रतिबद्धता जनाएको छ। गाँउपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। खर्चको जोहो क्लबले चन्दा संकलन गरेर गरेको छ। साथीभाइको शुभेच्छा र खेलप्रेमीको सहयोगले खर्च जुटाउँदै आएको उनको भनाई थियो। कास्कीको प्रतिनिधित्व गरेर सी खेल्ने पाउँदुरकोट क्लब एकमात्रै हो।
‘बजारको क्लबहरु ओझेलमा छन्। दुरदराजको क्लबले सी खेल्ने जमर्को गर्नु नै आफैंमा महत्वपूर्ण हो’ क्लबका प्रशिक्षक श्रेष्ठले भने, ‘पोखरादेखि २५ किलोमिटर टाढाको क्लब जहाँ फुटबलको लागि पर्याप्त पूर्वाधार छैन्। त्यहाँको क्लब सी खेल्न कस्सिएको छ।’ उनका अनुसार पोखराका क्लबस्तरीय लिग च्याम्पियनदेखि ठूला क्लबहरु सी डिभिजन खेल्न नसक्दा कास्कीको इज्जत भने पाउँदुरकोटले धानिदिएको छ।
ढिकुरपोखरीमा एउटामात्रै मैदान छ । जुन सेभेन ए साईड खेल्न योग्य छ। त्यसलाई सामान्य स्तरोन्नति गरिएको छ। एक स्थानीय तह एक खेल मैदान सरकारी नीति अनुसार तीन वर्ष अघि तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार९विश्वकर्मा०ले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट प्यारापिट तथा चेन्जिङ रुम निर्माण गरिएको छ। स्तरोन्नति गरिएको मैदानमा पाँउदुरकोट युवा क्लबले सी डिभिजनमा आफनो क्षमता र प्रतिभा देखाउन उद्दत छन्। सी डिभिजनमा ७८ क्लब छन्। ती क्लबहरु बीच छनोटको लागि प्रतिस्पर्धा हुने छ। साभार नागरिक दैनिक




