पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड आइसोलेसन वार्डमा तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २४ पामेका केशब गौतम रहेका छन्। उनलाई वडा प्रहरी कार्यालय रामबजार पोखराका प्रहरीले पक्राउ गरेको हो। उनलाई अहिले वडा प्रहरी कार्यालय रामबजार पोखराको हिरासतमा राखिएको समाचार स्रोतले जानकारी दिएको छ। उनलाई आइसोलेसन वार्डको झ्याल तोडफोड गरेको आरोप लगाइएको छ।
प्राप्त जानकारी अनुसार, कोरोना संक्रमित भएर उनी १८ दिनसम्म सोही आइसोलेसन वार्डमा बसेका थिए। कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा आफुलाई अनाबश्यक रुपमा आइसोलेसन वार्डमा लामो समय बस्नु परेको भन्दै उनले आक्रोशित बन्दै आइसोलेसन वार्डको झ्याल तोडफोड गरेको समाचार स्रोतको दाबी छ।




