काबुल र उत्तर पूर्वी अफगान प्रान्त बदख्शांमा दर्जनौं महिलाले अफगानिस्तानमा पुरुष प्रधान अन्तरिम सरकारको गठनको विरोध गरेका छन् ।
यी प्रदर्शनकारीले महिलाको अनुपस्थितीको सरकार आफूहरुले स्वीकार नगर्ने बताएका छन् ।
विरोध प्रदर्शन तितरबितर हुनुअघि केही महिलामाथि हातपात गरिएको पनि बताइएको छ । स्थानीय समाचार एजेन्सी एतिलाट्रोजका अनुसार र्यालीबारे जानकारी संकलन गरिरहेका केही पत्रकारलाई हिरासतमा लिइएको र कुटपिट गरिएको छ ।
तालिबानले यी आरोपमाथि हालसम्म कुनै जवाफ दिएको छैन तर यस्तो प्रकारको प्रदर्शन अवैध भएको चेतावनी भने दिएको छ ।
तालिबानले प्रदर्शनकारीले मार्च गर्नका लागि अनुमतिको आवश्यकता भएको र उनीहरुले अभद्र भाषाको प्रयोग गर्न नहुने बताएका छन् ।
यसैबीच मंगलबार पश्चिमी शहर हेरातमा एक प्रदर्शनको क्रममा तीनजनाको मृत्यु भयो ।
युरोपेली संघका अनुसार तालिबान सरकारलाई ‘समावेशी र प्रतिनिधि’ बनाउने बचनबाट विमुख भएको छ ।
अमेरिकाले पनि अंतरिम सरकारमा अमेरिकी बलमाथि हमलासँग जोडिएका मानिसहरुलाई समावेश गरिएको भन्दै चिन्ता जताएको छ ।
अमेरिकी विदेश मन्त्रालयले आफ्नो एक बयानमा भनेको छ, ‘हामीहरु केही व्यक्तिको ट्र्याक रेकर्ड’ सँग चिन्तित छौं ।’
तर चीनले अफगानिस्तानमा ‘तीन हप्ताको अराजकता’को समाप्तिको स्वागत गरेको छ र तत्काल ३१ मिलियन डलरको आर्थिक मद्दत गर्ने बचन दिएको छ ।




