पर्सा जिल्लाको सांसदलाई मन्त्री नबनाएको भन्दै बीरगंजमा जनता समाजवादी पार्टी जसपाको एउटा समूहले असन्तुष्टि जनाउदै पार्टी अध्यक्ष उपेन्द्र यादबको पुत्ला दहन गरेको छ। प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताहरुले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।
शुक्रबार विस्तार भएको शेर बहादुर देउबा नेतृत्वको मन्त्रिपरिषद्मा सांसद प्रदीप यादव मन्त्री बन्ने पक्का भएको अवस्थामा अन्तिम समयमा नाम काटिएको भन्दै यादब समर्थक कार्यकर्ताहरुले पार्टी अध्यक्ष यादबको पुत्ला जलाएको प्राप्त समाचारमा जनाइएको छ। आक्रोशित कार्यकर्ताहरुले जसपाको झण्डा पनि जलाएको बताइएको छ। निर्वाचित आफ्नो सांसदलाई मन्त्री नबनाएको आक्रोशमा उनकै पार्टी जसपाका कार्यकर्ताको एक समूह विरोध प्रदर्शन पनि गरेका थिए।
यसैबीच अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् । तर, यस विषयमा अध्यक्ष यादवले कुनै प्रतिक्रिया दिएका छैनन् । स्मरणीय के भने जसपाबाट चार जना मन्त्री हुनेहरुमध्ये तीन जना यादव रहेका छन् ।




