कैलालीमा बिहे भोजमा झडप हुँदा चार जना घाइते भएका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा स्थानीय विनोद घर्तीको बिहे भोजमा झडप हुँदा चार जना घाइते भएका हुन्। बिहे भोजमा सहभागी भएका चार जना युवामाथि युवाहरुको अर्को समूहले शुक्रबार राति आक्रमण गरेको बताइएको छ।
झडपका क्रममा बिहे भोजमा सहभागी स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ, कृष्ण विक र खगेन्द्र खत्तेडी घाइते भएका छन्। पांच वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले उनीहरुमाथि आक्रमण गरेको घाइतेहरुले बताएका छन्। घाइतेहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
बिहे भोजमा रमाइरहेका बेला मोटरसाइकलमा आएका अपरिचित मानिसहरुले अचानक आफूहरुमाथि आक्रमण गरेको घाइते कृष्ण विकले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बताउदै कुटपिटमा संग्लनको खोजी भइरहेको बताए।




