माल्दिभ्सको राजधानीमा भर्खर सम्पन्न फाइनल खेलमा नेपाललाई ३-० को गोल अन्तरले पराजित गर्दै भारतले आठौँ पटक साफ च्याम्पियनसिप जितेको हो ।
खेलको पहिलो हाफमा बराबरी खेलेको नेपालका बिरुद्ध भारतले दोश्रो हाफ शुरु भए लगत्तै लगातार दुई गोल गरेर अग्रता कायम गरेको थियो। भारतले दोश्रो हाफ शुरु भए लगत्तै दुइ मिनेटकाे फरकमा २ गोल गर्दै नेपाललाई दबाबमा पारेको थियो। भारतका लागि सुनिल क्षेत्रीले ४८ औं मिनेटमा पहिलो गोल गरे भने ५० औं मिनेटमा सुरेश सिंहले अर्को गोल थपे । भने खेलको अन्तिम समय ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।
साफ च्याम्पियनसिपको २८ बर्षको इतिहासमा पहिलो पटक फाइनलमा उत्रिएको नेपाली टोलीको प्रदर्शन विर्सनलायक भने रहेन । निकै संघर्षपूर्ण खेल पस्केपनि गोल गर्न नसक्ने परम्परागत कमजोरी यसपटक पनि दोहोरियो । त्यसमाथि खेलाडीहरुले बढी मिसपास खेल्नु नेपालका लागि दुर्भाग्य नै बनेको थियो ।
नेपालले खेलको आठौ र ७७ मिनेटका दुई प्रयास गोल पोष्टमा ठोक्किनु दुर्भाग्यको अर्को पाटो बनेको थियो । नेपाली टोलीको कमजोरी फाइदा उठाउन नचुकेको भारतले प्राय भएको गम्भीर आक्रमणलाई सफल बनाएको थियो ।
भारतलाई कडा टक्कर दिएको नेपालले भारतविरुद्ध गोल गर्ने धेरै प्रयास गरे पनि गोल भने फर्काउन सकेन। यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एक छत्र प्रभुत्व कायम राख्यो ।




