अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादु विक, मोहन विक, १३ वर्षीय पवित्रा विक, १६ वर्षीय रविन विक, ३६ वर्षीय मन्धरा बलायर छन् ।
यस्तै डडेलधुराका ३२ वर्षीय विष्णु अवस्थी र ६५ बर्षीया नरपता शाहीको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ । पहिरोमा परी डोटीका वीरबहादुर, वासुदेवी , बिन्दा कुन्जेडा, झुपारी सार्की, डडेलधुराका देवकी र ग्रिस रावलसमेत गरी छ घाइते भएका छन् ।
बझाङको थलारा गाउँपालिका–४ मा गएको पहिरोमा पुरिएर उजली, हासु, आयुस , हिमा र सीमा पार्कीसहित २३ बेपत्ता भएका छन् । उक्त घटनामा हर्क , धनगिरी, सीता, प्रभा, भूमिका, ईश्वरा, सञ्जीव, शर्मिला, सुवास, मिकेस, मदन, कलु, एलिसा, कम्मा, सविना, सरोज र सिम्बिजी सार्की बेपत्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा मङ्गलबार साँझ प्रहरी टोली पुगिसकेको छ ।
कैलालीका ३० वर्षीय गणेश आउजी, ६१ वर्षीय खड्क घर्तीमगर ३५ वर्षीय विक्रम घर्तीमगर, २६ वर्षीय खडक रानामगर र डोटीका ७४ वर्षीय वीरे रोकाया नदीमा बगेर बेपत्ता भएको बताइएको छ । अविरल वर्षासँगै प्रदेशका पहाडी क्षेत्रका जिल्लामा फोन इन्टरनेट सेवासमेत टुटेपछि सञ्चार सम्पर्क हुन सकेको छैन । धेरै ठाउँमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।
नेपाली सेना र प्रहरीको छुट्टै टोलीले पहिरो, बाढी, डुबानमा फसेकाको उद्धार कार्य जारी राखेको छ । प्रतिकूल मौसमका कारण केही क्षेत्रमा उद्धार कार्यमा बाधा अवरोध पुगेको छ । पहिरोका कारण पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएपछि उद्धार टोली समयमै घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । । पहिरोका कारण बझाङ, डडेलधुरा र डोटी जिल्लामा गरी १५ घर भत्किएर क्षति पुगेको छ । डुबान र पहिरोको जोखिममा परेपछि डडेलधुराको बडाल प्रहरी चौकीलाई गाउँपालिकामा, बझाङको बागथलाको अस्थायी प्रहरी पोष्ट नजिकको विद्यालयमा, कञ्चनपुरको झोलुङ्गे पुल छेउमा रहेको प्रहरीचौकी विद्यालयमा सारिएको छ । कैलाली र कञ्चनपुर जिल्लाका नदी तटीय क्षेत्रका वस्तीमा पानी पसेपछि हजारौ घरपरिवार विस्थापित भएका छन् ।
यस्तै विपद्का घटनावाट बाजुरा, डोटी, डडेलधुरा, बझाङ जिल्लामा पशुचौपाया, लत्ताकपडालगायतमा समेत क्षति पुगेको छ । प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भित्र्याउन लागिएको ठूलो क्षेत्रफलको जग्गाको धानबाली डुबानमा परेर नष्ट भएको छ ।
नदी आसपासका खेतमा थुपारिएको धान नदीको बाढीले पूरै बगाएको छ । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । गए रातिदेखि वर्षा रोकिएपनि आकाश खुलेको छैन ।
पश्चिमबाट पूर्वतर्फ स¥यो वर्षास् नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।
गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।
भोलि बिहीबारबाट भने मौसममा सुधार आउने भए पनि पूर्ण सुक्खा नहुने हुँदा ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको उहाँले बताउनुभयो । उहाँको अनुसार आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।
हाल देशको प्रदेश १, २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
सप्तरीमा वर्षाले धानबालीमा क्षति
लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पु¥याएको छ । काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका सहित पश्चिमी भेगका बलान विहुल,राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानबाली लगाइएकोे थियो । वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरु निरास भएका छन् ।
हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन नपाएको उनीहरुको दुखेसो छ । हनुमाननगर कङ्कालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धाननष्ट हुँदा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो “खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ ।




