अनियन्त्रित रुपमा आएको बसले गएराती हेटौडामा देउसी खेलिरहेको एक समुहलाई ठक्कर दिदा दुई जनाको निधन भएको छ भने पाँच जना घाइते भएका छन्। हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले गए राति करिब ११ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं १९ स्थित नेवारपानीमा देउसी खेलिरहेको एक समुहलाई ठक्कर दिदा दुई जनाको निधन भएको हो।
सो दुर्घटनामा परेर हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवनका ३४ वर्षीय प्रेमबहादुर सिंहको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडा– १९ का १६ वर्षीय संगम नेपाली, ३५ वर्षीया तुलशा विष्ट, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी भने घाइते भएको बताइएको छ। तीमध्ये दुई जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको र अन्यको हेटौँडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि रूष्ट स्थानीयहरूको भीडले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।




