सर्पले डसेका कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १४ वर्षीय छोरा विशाल पौडेलको १५ महिनासम्म अनवरत उपचारका क्रममा ज्यान गएको छ । गत वर्ष २८ साउन, २०७७ राति घरमै दाइसँग सुतिरहेका विशाललाई कालो करेतले डसेको थियो ।
डेढ महिनापछि मात्र होस आएका विशालको विस्तारै स्वास्थ्य अवस्था सुधार हुँदै गएपनि उनी ठीक नहुँदै कार्तिक २२ गते संसार छाडे । २०६३ असोज ७ गते जन्मिएका विशालको विषालु सर्पले डसेकै कारण १५ महिना ओछ्यानमै संघर्ष गर्दागर्दै असामयिक निधन हुन पुगेको हो । उनी महारुद्र मावि तप्राङमा कक्षा आठमा अध्ययन गर्दै थिए ।
सर्पले डसेपश्चात् पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार शुरु गरिएकोमा १२ लाख खर्च गरेपछि परिवारको आर्थिक अवस्थाले नधानेपछि सहयोग संकलन सुरु भएको थियो । विशाल पौडेल बचाउ अभियान नै चलाएर २६ लाख बढी संकलन गरी अभियान स्थगित गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा ४२ दिन उपचारपछि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । कोमाबाट १९ दिनपछि फर्किएका पौडेलको मुख र आँखा चलेपनि आज ४० दिनसम्म होसमा आउन नसकेपछि चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरेको थियो । शुरुवातमा परिवार आफैँले उपचार खर्चको व्यवस्थापन गरेपनि उपचार प्रक्रिया लम्बिदै जाँदा परिवारले सहयोगको हात थापेका थिए ।




