पोखरामा बिभिन्न बहानामा फिर्के खोला वरपरको सरकारी जग्ग्गा रहेको क्षेत्रमा अतिक्रमण गर्नेको संख्या बढेको छ । पोखराको वडा न ४ र ५ हुदै बग्ने फिर्के खोलामा पनि यति बेला रातारात भौतिक संरचना निर्माण भैरहेका छन् ।
केहि महिना अगाडी पनि पोखराको फिर्के खोला मिचिएको समाचारहरु सामाजिक संजालमा आएका थिए भने यस क्षेत्रमा भौतिक संरचना बनाउन खोज्दा महानगरका नगर प्रहरी तथा कर्मचारीको सहयोगमा डोजरको चावी नै खोसेर महानगरलाई बुझाइएको थियो ।
एकातिर महानगरले सरकारी जग्गा खोला नाला अतिक्रमण बन्द गर्न आग्रह गर्दै चिठी काटेको थियो भने अर्को तिर भूमाफियाहरुले रातारात संरचना बनाउने काम अगाडी बढाउदै आएका थिए । त्यस्तै केहि महिना अगाडी जनाप्रतिनिधीको रोहवरमा उनीहरुलाई सम्झाइबुझाई गर्दा उल्टै सरकारी जग्गा मिच्नेले जनाप्रतिनिधीलाई “के गर्न सक्छौ गरे हुन्छ” भन्ने खालको प्रतिक्रिया दिन खोजेपछि अहिले यस क्षेत्रका जनप्रतिनिधिले नागरिक समाजको साथमा केहि पत्रकारहरुलाई फिल्डमा नै लगेर सबै कुराको जानकारी दिएका छन् ।
पोखरा महानगरपालिका वडा न ५ का सबै जनप्रतिनिधि मिलेर आफ्नो वडामा सरकारी जग्गाको अतिक्रमणको बिषयमा पछिल्लो समय खुलेर बिरोध गरेका छन् भने पोखरा महानगरपालिका वडा न ५ र ७ को सिमानामा रहेको फिर्केखोलाको क्षेत्रमा पनि अतिक्रमण तिव्र रुपमा बढ्दै गएपछि स्वयम् जनप्रतिनिधि नै उपस्तिथी भएर यस्तो गैरकानुनी काम गर्नेको विरुद्धमा खुलेर विरोध गरेका छन् ।
फिर्केखोला मात्रै नभई पोखरा महानगरपालिका वडा न ५ हुदै बग्ने बुलौदी खोलाको किनारमा पनि अतिक्रमण बढ्दै गएको पोखरा महानागरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले जानकारी दिएका छन् ।
रातारात सरकारी जमिन,खोलानालामा भौतिक संरचना बनाउनेहरुको विरुद्धमा आफुहरु खुलेर बिरोधमा रहेको र धेरै सम्झाइबुझाई गर्दा पनि नटेर्ने गरेको हुनाले अब छिटैनै महानगरपालिकाको पहलमा अतिक्रमणमा परेको जमिन फिर्ता ल्याउनको लागि बल प्रयोग गरेर भएपनि डोजर चलाउने महानगरका प्रवक्ता नेपालीले बताएका छन् ।




