विराटनगर : विराटनगरको गोल्डेन अस्पतालबाट हामफालेर एक बिरामीले आत्महत्या गरेका छन्।
धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् ।
छारे रोगको उपचारका लागि उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए। उनलाई हात बाँधेर अस्पतालमा उपचार गराइ राखिएको थियो। तर शुक्रबार बिहान मण्डलकी सासुले हात खोलिदिएपछि हामफालेको पाइएको छ । गोल्डेन अस्पतालले मण्डललाई उपचार गरेको रकम नतिरेको भनेर तीन दिनदेखि घर जान नदिएको उनका आफन्तले बताएका छन् ।
शुक्रबार बिहान करिब ६ बजे हामफालेका उनको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मण्डल हामफाल्न कुदेपछि अस्पतालकै नर्सले रोक्ने प्रयास गरेपनि नसकेको अस्पतालले बताएको छ।
मण्डल मानसिक रोगी भएकै कारण अस्पतालबाट हामफालेको वा अस्पतालमा उपचार गरेको पैसा तिर्न नसकेर आत्महत्या गरेको भन्ने बारेमा थप अनुशन्धान भैरहेको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।




