पुस १६ पोखराको जिरो किमि स्थित पामे चापाकोट सुनचाँदी पसलबाट सिक्री चोरी गरी फरार महिला सम्पर्कमा आएकी छन् ।
कास्की प्रहरीलाई घटनाबारे सोध्दा अनविज्ञ पाइयो । कास्की प्रहरीको कन्ट्रोलमा समेत जानकारी नगराइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । त्यसपछि जिरोकिमि क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका डिएसपी चिनिमाया तामाङलाई सम्पर्क गर्दा उनले निवेदन आएको स्विकार गरिन् । प्रहरीले ट्याक्सी पत्ता लगाई महिला ओरालेको ठाउँमा पुगी सर्च गरेको समेत बताईन् । त्यसपछि प्रहरीले ४ दिन सर्च गरिरहेको भनिरह्यो तर युवती पक्रन सकेको थिएन ।
मंगलबार दिउँसो ‘समाचार डिलिट गरिदिनुस्, म सिक्री दिन्छु’ भन्दै सम्पर्कमा आएकी छन् । ति युवतीले भनेकी छन् ‘मेरो बारेमा आएको समाचार हटाइदिनुस् न प्लिज, म दिन्छु भनेरै बसेको थिएँ । म पैसा नै दिन्छु । म जसरी नि दिने थिएँ । म त्यस्तो पनि होइन । त्यो बेला दिमाग के भयो । अब यस्तो हुँदा पनि हुँदैन ।’
सिसीटिभी फुटेजमा ३५ वर्ष माथिको महिला जस्तो देखिएपनि उनी २१ वर्षीया युवती हुन् । ब्याचलर फर्स्ट ईयर अध्ययनरत बताउने उनले आफू पाल्पाको भनेकी छिन् ।‘पाल्पाबाट बोलेको हुँ बैंक खाता पठाउनू’ भन्दै फोन गरेकी उनी पोखराको लेकसाइडमै भेटिएकी छन् ।
वडा प्रहरी कार्यालय बैदाम कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले युवतीलाई लेकसाइडबाट आज पक्राउ गरेको बताइन् । तर, युवती आफै समाचार डिलिट गरिदिनुस् भन्दै सम्पर्कमा आएकी हुन् । यसपछि मात्र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले सम्बन्धितबाट पसल सञ्चालकबाट जाहेरी नपरेको र युवती बैदाम हिरासतमा रहेको बताए । उनले अहिले परिचय खुलाउन नमिल्ने भन्दै घटनाबारे थप जानकारी दिएनन् ।




