दर्शक विनै पोखरामा आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता सुरु उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई पराजित गर्दै एपिएफको जित
पोखरा ६, माघ कोरोनाको कारण दर्शक विना पोखरामा विहिबार देखि आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ । पोखरा रंगशालामा विहिबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लवले जित हासिल गरेको छ । एपिएफले आयोजक सहारा क्लवलाई २–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
यही माघ ८ गते एफिएफले पाहुना टोली अमेरीकाको विवाईएससी मिनीसोटासंग प्रतिष्प्रर्धा गर्ने भएको छ । एपिएफको जितमा सविन थापा र प्रदिप लामाले एक एक गोलको योगदान दिए । थापाले खेलको सूरुवातीमा एक गोल गरेका थिए भने दोश्रो हापको सुरुवातीमा लामाले एक गोल गरी जित सुनिश्चित पारेका हुन्। सहाराका प्रशिक्षक प्रलाद हिराचनले एक दिनको तयारीमा विदेशी खेलाडीहरुको टिम तयार पारे पनि राम्रो तालमेल हुन नसक्दा पराजित हुनु परेको बताए ।
एपिएफका प्रशिक्षक कुमार थापाले सहाराको जोडजामको टिम भएकोले त्यसको फाइदा उठाउदै जित सहज भएको बताए । आफुहरुले पहिलो पटक तीन जना विदेशी खेलाडी सहित काठमाण्डौं बाहिर खेलेको उनले जनाए । यस अघि सहाराले १२ औं आहा रारामा उपाधि जितेको थियो । दर्शक विना खेल खेल्दा आफुहरुलाई समेत खल्लो अनुभव हुने सहाराका प्रशिक्षक हिराचनले गुनासो गरे । शुक्रबार हिमालयन शेर्पा बिरुद्ध नेपाल पुलिस क्लव बिच खेल हुने भएको सहारा क्लवले जनाएको छ । खेलमा एपिएफका नविन लामा म्यान अफ दी म्याच घोषित भए । यसैबिच, उक्त प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मा छिरीङ शेर्पाले गरेका थिए ।
आगामी बर्ष देखि आहा रारालाई आफ्नो बार्षिक क्यालेण्डरमा समेत समावेश गर्ने उनले जनाए । क्याराभान गोल्ड कप सहितको २१ औं संस्करणको आहा रारा गोल्ड कपको इतिहासमै पहिलो पटक दर्शक विना विहिबार देखि सुरु उक्त खेल सुरु भएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यले यही माघ १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा पाहुना टोली सहित १० टिमको सहभागिता रहेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । प्रतियोगितामा अमेरीकाको विवाईएससी मिनीसोटा, संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल ए. पि. एफ. क्लब, मनाङ्ग मर्स्याङ्गदी क्लब र घरेलु टिम सहारा क्लब सहभागि हुने भएको क्लवले जनाएको छ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्। गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी गरी १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिब अधिकारीले जनाए । क्याराभान गोल्ड कप सहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर के.सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आएको क्लवले जनाएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ उक्त प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । उक्त अवसरमा राष्ट्यि एवं मनाङ मस्र्याङदी क्लवका स्टार खेलाडी अन्जन विष्टलाई उत्कृष्ट बर्ष खेलाडीबाट सम्मान गरिएको छ ।
उनलाई नगद ३५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।




