फेदीखोलाका विद्यालयलाई जापानी संस्थामार्फत स्कुल झोला (राण्दोसेरू ) सहयोग
स्यान्गजा जिल्ला फेदिखोला (२, स्थानचौरमा रहेको महेन्द्र जनसहयोग आधारभुत विद्यालयमा पिक एड स्कुल प्रोजेक्ट फाउण्डेशन नेपालको आयोजनामा विद्यार्थीहरुलाई स्कुल झोला (राण्दोसेरू) वितरण गरिएको छ ।
जापानी संस्था पिक एड, केन नोगुची फाउण्डेशन जापानका संस्थापक तथा डाईरेक्टर पर्वतारोही नोगुची केनद्धारा उपलब्ध गोदार उपकार थापाको पहलमा प्राप्त १५० थान झोला विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले गाउँपालिकामा रहेका हरेक विद्यालयहरुका शैक्षिक, भौतिक तथा गुणस्तर युक्त शिक्षाको लागि हरतरहले लागेको वताउँदै विद्यालयलाई सहयोग गर्ने संस्था तथा उपकार प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

कलाकार तथा साहित्यकार लाल कार्की अन्जानले विद्यालयको लागि आफैले बनाएको पेन्टिङ हस्तान्तरण गर्दै फेदिखोला गाउँ पालिका भित्रका सबै विद्यालयलाई एक एक वटा पेन्टिङ प्रदान गर्ने योजना रहेको पनि बताउनुभयो।
महेन्द्र जनसहयोग आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बलबहादुर गोदारले विद्यालयको विगत र अहिलेको वारेमा जानकारी गराउँदै जापानका नागरिक पर्वतारोही नोगुची केनको संस्था मार्फत प्राप्त सहयोगले विद्यालयको भौतिक पुर्वाधारमा कायापलट भएको बताउनुभयो।
सो अवसरमा फेदीखोला २ मा रहेका महेन्द्र जनसहयोग आधारभुत विद्यालयसहित काला भैरब मा.वि. खहरे आ.वि., सिद्धार्थ मा.वि. र फेदीखोला १ मा रहेको शिवालय आ.वि. का विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो । ओरिजिनल छालाबाट बनेको झोला भएकोले राम्रोसॅग जोगाएर प्रयोग गरेमा वर्षौं टिक्ने गोदारले वताए ।
साथै पिक एड स्कुल फाउण्डेसन नेपालको नाम परिवर्तन गरी “उपकार फाउण्डेशन नेपाल” बनाउन राख्नुभएको प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरिएको अध्यक्ष गोदारले बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष देवी थापा, पुर्व गाविस अध्यक्ष लेखनाथ पराजुली, जनआदर्श माविका पुर्व प्रअ उमाकान्त सुवेदी, वृहत फेदीखोला पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलाश गुरुङ, वर्तमान उपाध्यक्ष जगदिश लामिछाने, समाजसेवी पुष्पराज बराल, कलाकार तथा साहित्यकार लालकार्की अन्जान, पत्रकार कृष्ण रानाभाट लगायतले झोला बितरण गर्नुभयो।
विद्यालयका अध्यक्ष वलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत धर्मदत्त पौडेलले र संचालन प्रधानाध्यापक तारापति सुवेदीले गर्नुभएको थियो ।




