पोखरास्थित यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्रका तात्कालिन तीन जना निमित्त कार्यालय प्रमुखहरु लगायत नौ जनाको जागीर चट् भएको छ।
अनियमित तरीकाले सवारी चालक अनुमति पत्र वितरण गरेको भन्दै आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरास्थित यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्रका तात्कालिन तीन जना निमित्त कार्यालय प्रमुखहरु लगायत नौ जनाबिरुद्ध बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दर्ता गरेपछि उनीहरुको जागीर चट् भएको हो ।
जागीर चट् भएका यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्रका तात्कालिन निमित्त कार्यालय प्रमुखहरुमा गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतम, भरत प्रसाद काफ्ले रहेका छन्। त्यसै गरी सोही कार्यालयका तात्कालिन अधिकृतस्तर आठौं तह भरतमणि बराल, सातौं तह प्रेम प्रसाद श्रेष्ठ, छैठौं तह डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर करारझलक पौडेल र कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी को पनि जागीर चट भएको अख्तियारले जनाएको छ।
यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसमेत नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी अनियमिता गरेको आरोपसहित अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०७५ मंसिर, २०७६ कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरु दोषी पाइएको अख्तियारले जनाएको छ ।
उनीहरुले प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका एकसय ६६ जना परीक्षार्थीहरुको पास गराएको तथा दुई जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरुलाई फेल गराई जम्मा एकसय ६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारले जनाएको छ ।
निमित्त कार्यालय प्रमुखसमेतले संलग्न कर्मचारीहरुलाई कुनै प्रकारको विभागीय कारबाही गरेको नदेखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई मुद्दा दायर गरिएको हो ।




