एजेन्सी । चिनियाँ विमान दुर्घटनामा सवार सबै यात्रुको निधन भएको आशंका गरिएको छ।
दक्षिणी चीनमा दुर्घटनाग्रस्त बनेको १३२ जना यात्रु सवार विमान दुर्घटनामा हालसम्म कोहि पनि जीवित नभेटिएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ।
मंगलवार एक सरकारी अधिकारीलाई उदृत गर्दै सिन्हवाले कोहि पनि यात्री जीवित नभेटिएको जनाएको हो।
दक्षिण गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि यात्रुहरुको अवस्था पत्ता लगाउन उद्धार कार्य जारी राखिएको थियो।
उद्धार कार्यमा २ हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको थियो।
मंगलबार बिहानै दुर्घटनास्थलमा बर्षा भएपछि खोजी कार्यमा प्रतिकूल असर पारेको उद्धारकर्मीले बताएका थिए। चिनियाँ राष्ट्रपति सि जिनपिंगले दुर्घटनग्रस्त विमान र यात्रुको खोजी र उद्धारमा सबै प्रयास गर्न निर्देशन दिएका छन्।




