ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विष्फोट हुँदा मृत्यु भएका दुई जना र घाइते छ जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार, सो बिष्फोटमा परेर भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पाटन अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो भने भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त बिष्फोटमा परेर घाइते भएका चन्द्रागिरी नगरपालिका(२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। यस्तै, पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका(८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका(९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका(५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन्।
उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए।
पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिहीबार बिहान १०ः०५ बजे अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ बिष्फोट भएको बताइएको छ। विष्फोटका कारण घटना घटे पनि आगलागी नभएकाले थप क्षति हुन पाएन।
त्यस्तै, दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताए। मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी विष्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए।




