पोखराको बुद्धविशाल बजारमा सिनेमा हल सञ्चालन गर्ने तयारी भएको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसन पोखराका अध्यक्ष केशब बहादुर खत्रीले अबको एक वर्षमा हल सञ्चालन गर्नेगरी तयारी सुरु भएको बताए ।
४० वर्ष देखि सञ्चालनमा रहेको बुद्धविशाल बजारमा ग्राहकको आर्कषण थप्नको लागि सिनेमा हल सञ्चालन गर्ने तयारी गर्न खोजिएको उनको भनाई छ । सिनेमा हल सञ्चालन गर्ने तयारी अगाडि बढाउन बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका प्रवत्ता तथा प्रेस संयोजक मनोहरी पौडेललाई जिम्मेवारी दिइएको उनले खुलाए ।
प्रवत्ता पौडेलका अनुसार सिनेमा हल बुद्ध विशाल बजारको दोस्रो तलामा बनाउने योजना बनाइएको हो । ‘हामीले विशाल बजारमा हल सञ्चालन गर्नको लागि सरोकारवालासँग पहिलो चरणको छलफल गरिसकेका छौँ, छलफल सकारात्मक छ’ पौडेलले भने ।बढीमा एक वर्ष भित्रमा सञ्चालनमा आउनेगरी तयारी गरिएको हल अत्याधुनिक सुविधा सहितको झण्डै २०० सिट क्षमताको हुनेछ । प्राविधिक रुपमा सम्बन्धित पक्षसँग छलफल गरिरहेको र आवश्यक प्रक्रिया पुरा भएपछि संरचनागत कार्य अगाडि बढाइने उनले खुलाए। हल स॥चालनमा आएपछि ग्राहकको आगमन झनै बढ्ने व्यवसायीको अपेक्षा छ ।
बुद्ध विशालबजारका २ सय ४० वटा सटरमार्फत १ सय ९७ व्यवसायीले ग्राहकलाई सेवा दिदै आएका छन् । बजार सामान किन्न पुग्ने ग्राहकको लागि बजारभित्रै पार्किङको समेत राम्रो व्यवस्था मिलाइएको एशोसिएसनको दावी छ । जुन पार्किङमा व्यवसायीले भने सवारी साधन पार्क गर्न पाउने छैनन् । यहाँ पुग्ने ग्राहकलाई लक्षित गरेर एशोसिएसनले यतिबेला निःशुल्क उपहार कुपन कार्यक्रम समेत ल्याएको छ ।




