पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल
प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ
सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका
हुन् ।
पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको
भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो
सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को
सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७
र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो । दोस्रो सेमीफाइनल खेलमा
गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो ।
गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा
भेट्रानसँगको भेट पक्का गरेको हो ।
यस्तै महिलातर्फ दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नवलपुरले
मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७
को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कर्पाकेली समाजले पुन
क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले
२५–१३, २३–२५ र २५–१० को सेटमा हराउँएको हो ।
यस्तै पुरुषतर्फ पनि एक खेल सम्पन्न भएका छन् । छन्त्याल समाज ।।।ए’ ले भुक
देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ।।।ए’ले २५–२२, २५–
२७ र २५–१८ को जित निकालेको हो ।
जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने,
सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।
समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८,
महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।




