पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अक्षयकोष स्थापनाका लागि १ लाख ११ हजार १११ रुपैयाँ जिल्ला सहकारी संघ लिमिटेड कास्कीलाई हस्तान्तरण गरेको छ ।
६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा आयोजित समारोहमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले जिल्ला सहकारी संघ लि।कास्कीका अध्यक्ष एवं ६७औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष सावित्रा कोईरालालाई हस्तान्तरण गर्नुभएको हो ।
कास्की जिल्लामा क्रियाशिल सहकारी संस्थाका अध्यक्षहरु मध्ये उत्कृष्ट काम गर्ने एकजना अग्रज सहकारी कर्मीलाई अक्षय कोषको ब्याजबाट वार्षिक रुपमा सम्मान एवं पुरस्कृत गर्न यो कोषको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताउनुभयो । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष स्व।मेजर तुलसीप्रसाद गुरुङ्गको सम्झनामा स्थापित उक्त कोषले वहाँको सहकर्मी अग्रजहरु र सहकारीमा लाग्ने असल अभियानकर्मीहरुको लागि थोरै भएपनि सम्मान दिलाउने कार्य हुन सक्ने प्रमुख कार्यकारी अधिकृतको बुझाई छ ।
पोखरा रोयल बचत तथा ऋण सहकारीले यसभन्दा अगाडिदेखि राष्ट्रिय सहकारी पुरस्कार, क्षेत्रीय पत्रकारिता पुरस्कार, प्रतिभा पुरस्कार तथा विभिन्न विधामा दर्जनौ श्रष्टा तथा सहकारी अभियन्ताहरुलाई पुरस्कृत गर्दै आईरहेको र हाल स्थापित पुरस्कार कोषले जिल्ला सहकारी मार्फत असल र सफल सहकारी अभियन्ताहरुको कामको मूल्याँकन गर्दै सम्मान गर्ने संस्कार वृद्धि हुनेछ ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष मे।तुलसीप्रसाद गुरुङ्गको गत श्रावण ६ गते ८४ वर्षको उमेरमा निधन भएको थियो । मेजर गुरुङ्गले संस्थामा करिब २० वर्ष अध्यक्षको रुपमा योगदान दिएको संस्थाका सूचना अधिकारी एवं मूख्य प्रवन्धक मीलन ढकालले बताउनुभयो ।




