पोखरा, बैशाख २२ गते
पोखरामा संचालित रेडियो बाराही ९९.२ का कार्यकारी निर्देशक एवं अग्रज पत्रकार रमेश पौडेल प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित हुनुभएको छ ।
३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौमा भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा २७ आंै महाधिवेशन उद्घाटन समारोहमा महासंघ केन्द्रीय समितिको निर्णयबमोजिम पौडेललाई प्रेस स्वतन्त्रता सेनानी घोषणा सहित सम्मान गरिएको हो ।
नेपाली पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानको साथै नेपालमा स्वतन्त्र प्रेसको बिकास र रक्षाका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेल्नुभएको भुमिकाको सम्मान गर्दै नेपाल पत्रकार महासंघले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सो सम्मान अर्पण गरिएको हो ।
गोरखापत्र दैनिकको गण्डकी ब्युरो प्रमुख समेत रहनुभएका पौडेल समाधान दैनिकका पूर्व संस्थापक सम्पादक साथै आर्दश समाजको कार्यकारी सम्पादक भइ काम गरिसक्नुभएको छ । उहाँ विगत २५ बर्षदेखि नेपाल टेलिभिजन लगायत विभिन्न मिडियामा आवद्ध भई काम गर्नुभएको छ भने गोरखापत्र दैनिकमा मात्र करिब तीन दशकको निरन्तरता रहेको छ ।
पत्रकारिता क्षेत्रमा क्रियाशील पौडेल हालै प्रेस काउन्सिलबाट प्रदान गरिएको अग्रज पत्रकारिता सम्मान–२०८० बाट सम्मानित हुनु भएको थियो । सो सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले अर्पण गर्नुभएको थियो ।
यसका अलवा नेपाल पत्रकार महासंघ कास्कीबाट संचालित दयाशंकर स्मृति पत्रकारिता पुरस्कार, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, पर्वतबाट हरिमखमली प्रेस युनियन पत्रकारिता पुरस्कार लगायत दर्जनौ सम्मानबाट पुरस्कृत भैसक्नुभएको छ ।
आमसञ्चार, राजनितिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका पौडेलले कानुनमा स्नातक गरि अधिवक्ताको रुपमा समेत काम गर्नुभएको अनुभव रहेको छ । उहाँ हाल विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही काम गर्दै आउनुभएको छ ।




