नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदहरुलाई सम्झँदै उनीहरुको सपना मर्न नदिने बताएका छन् । राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित सहमति पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आगामी दिनमा नागरिकको सुरक्षा, समाज रुपान्तरण लगायतका महत्वपूर्ण काममा आफ्नो भूमिका उस्तै रहने पनि विप्लवले बताए । नेपाली जनताको श्रम र क्षमताले देश बनाउने अठोट गर्नु पर्ने बताउँदै उनले श्रमजीवी वर्गले अझै न्याय नपाएकाले यसमा राज्यको ध्यान जानु पर्ने उल्लेख गरे । राजनीतिक दलहरुले जनताका साझा समस्यालाई सम्बोधन गर्नु पर्नेमा त्यसो हुन नसकेपछि यस अघि आफूहरु विद्रोहमा जानु परेको विप्लवले खुलासा गरे । सरकार र विप्लव समूहबीच सहमति भए अनुसार आज हस्ताक्षर भएको हो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपा विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् । सरकारसँग तीनबुँदे सहमति भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रहरी सुरक्षासहित आजै राजधानी आएका थिए । मंगलबार सरकार र विप्लव दुवै समूहले आआफ्ना वार्ता टोली गठन गरेका थिए । बुधबारदेखि नै सुरु भएको वार्ता बिहीबार सहमतिमा टुंगोमा पुगेको थियो । सरकार र हिंसात्मक आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच राजधानीमा जारी वार्ता सफल भएपछि तीन वर्षदेखि भूमिगत विप्लव राजधानी आएका हुन् । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । सहमतिपत्रमा हस्ताक्षर हुनु अघि आजै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच बालुवाटारमा भेटवार्ता भएको थियो । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएपछि सरकारले उक्त समूहमाथि लगाएको प्रतिबन्ध हटाइसकेको छ । आजदेखि विप्लव समूहका पक्राउ परेका नेता कार्यकर्तालाई क्रमिक रुपमा रिहाइ गर्दै लगिने सरकारले जनाएको छ। आजै विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेबाट रिहा भइसकेका छन्।
नेत्रविक्रम चन्द विप्लवले सहिदहरुलाई सम्झँदै उनीहरुको सपना मर्न नदिने
नेत्रविक्रम चन्द विप्लवले सहिदहरुलाई सम्झँदै उनीहरुको सपना मर्न नदिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




