बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेर हत्यारा मोटरसाइकल चढी भागेका छन्।
रौतहट चन्द्रनिगाहपुरमा पनि घर भएका र हाल निजगढ नगरपालिकास्थित आफ्नै घरमा बस्दै आएका १९ वर्षीय रोहित शर्माको मंगलबार बिहान घरभित्रै हत्या गरेर हत्यारा मोटरसाइकल चढी भागेका हुन ।
प्रहरीका अनुसार, उनको घरको तल्लो तलामा बस्ने खाजा पसलेले माथिल्लो तलामा हो(हल्ला भाको सुनेपछि सोधीखोजी गर्दै गर्दा हत्यारा मोटरसाइकल चढी भागेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जानकारी दिएको छ। स्थानीय बासिनदाले मंगलबार बिहानै खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।
पेन्टरको काम गर्दै आएका उनको कसले किन हत्या गर्यो भन्ने बारेमा आबश्यक अनुसन्धान शुरु भएको डिएसपी गौतम मिश्रले जानकारी दिए। अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार,त्यस हत्याको घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।




