पोखरा, १४ जेठ । कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको सशस्त्र प्रहरी बल नेपालले उद्धार गरेको छ।
बुधबार दिउँसो करिब २ः२५ बजे पोखरा–१७ ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली खोलामा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गोताखोरसहित १४ जनाको टोली घटनास्थलमा पुगेर खोजी कार्य सञ्चालन गरेको थियो। खोजीका क्रममा करिब २० फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल पोखरा–१० रामघाट पठाइएको थियो। उपचारकै क्रममा दिउँसो ५ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।




