पुनर्स्थापित एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ।
सर्वोच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्।
त्यसयता एमालेले पहिलोपटक केन्द्रीय कमिटीको बैठक राख्न लागेको हो।
बैठक चैत १ गते ९आगामी आइतबार० धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यालय सचिव ईश्वरी रिजालले नेपालखबरलाई जानकारी दिए।
एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ।
ऋषि कट्टेलले आफूले नेकपा नामको पार्टी निर्वाचन आयोगमा पहिले दर्ता गराइसकेको अवस्थामा एमाले र माओवादी केन्द्रले एकता गरी फेरि नेकपा नै भनेर आयोगमा दर्ता गराएको भन्दै २ वर्षअघि अर्थात् पछिल्लो नेकपा दर्ता भएलगत्तै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।
जसको फैसला सर्वोच्चले यही फागुन २३ गते गरेको हो– कट्टेलको नेकपा वैधानिक, पछिल्लो नेकपा खारेज भनेर। साथै पहिलेकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएपछि अहिले नेकपाका नेताहरू आआफ्नै पार्टीमा फर्केका हुन्।
यो फैसलाले एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा पुर्याएको छ। जसअन्तर्गत एमालेको केन्द्रीय कमिटीमा २४१ सदस्य छन्।




