काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको आर्थिक अनियमितता तथा खेलमा मिलेमतोसम्बन्धी कसुरमा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ।
सीआईबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदै चार जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको हो। अनुसन्धानका क्रममा उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालिएको सीआईबीले जनाएको छ।
सीआईबीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत खेलमा मिलेमतो, राष्ट्रहितविरुद्धको कसुर तथा ठगीसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो।
अनुसन्धानका क्रममा गत २ असोजमा सीआईबीले एन्फा मुख्यालय सातदोबाटोमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। अध्यक्ष नेम्वाङ र महासचिव राई भने फरार रहेको सीआईबीको दाबी छ।
सीआईबीको अनुसन्धानमा नेपाल र बहराइनबीचको विश्वकप छनोट खेलसँग सम्बन्धित आर्थिक तथा प्रक्रियागत अनियमितता समेत औंल्याइएको छ। २०२४ मार्चमा नेपाल र बहराइनबीच भएका दुवै खेल बहराइनमै खेलिएका थिए। उक्त खेलका लागि बहराइन फुटबल संघबाट एन्फाले प्राप्त गर्नुपर्ने २० हजार अमेरिकी डलर व्यक्तिगत खातामा गएको दाबी सीआईबीले गरेको छ।
यस्तै, खेलको नतिजा प्रभावित पार्ने उद्देश्यले विपक्षी खेलाडीसँग मिलेमतो गरिएको समेत अनुसन्धानबाट खुलेको सीआईबीको निष्कर्ष छ। अब सरकारी वकिलको कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरी मुद्दा चलाउने वा नचलाउनेबारे निर्णय गर्नेछ।




