बार्सिलोनाले स्टार खेलाडी लियोनेल मेस्सीलाई क्लबमा नै राख्न चाहेको भए क्लबको भविष्य आगामी ५० वर्षसम्मका लागि जोखिममा हुने अध्यक्ष जोआन लापोर्टाले स्पष्टीकरण दिएका छन् । ला लिगाको तलबको सीमाका कारण बार्सिलोनाले नयाँ करार दिन नसकेपछि ३४ वर्षीय खेलाडीले क्लब छाड्ने भएका छन् ।
एउटा निजी कम्पनीले ला लिगामा लगानी गर्न चाहेको थियो । यदि त्यो सफल भएको भए बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न सक्ने थियो । तर, यसको बदलामा बार्सिलोनाले टिभीको केही अधिकार गुमाउनुपर्ने थियो । ‘क्लबलाई ५० वर्षसम्म असर गर्ने निर्णय म लिन सक्दिनँ,’ लापोर्टाले भने, ‘यो क्लब १ सय वर्ष पुरानो छ । यो सबैभन्दा, सबै कुराभन्दा, विश्वकै उत्कृष्ट खेलाडीभन्दा पनि माथि छ । हामी उनले हाम्रा लागि गरेको हरेक कुराका लागि धन्यवाद दिन चाहन्छौँ ।’
बार्सिलोनाका सर्वकालिन गोलकर्ता रहेका मेस्सी र बार्सिलोनाबीच तलब घटाएर आगामी पाँच वर्ष करार गर्ने सहमति भएको थियो । तर, त्यसका लागि पनि क्लबले खेलाडीहरूको तलबलाई अझै घटाउनुपर्ने थियो । तर, बार्सिलोनाले त्यसो गर्न सकेन ।
‘लियो यहाँ बस्न चाहन्थे । त्यसैले उनी खुसी छैनन्,’ लापोर्टाले भने, ‘हामी सबै उनी बसोस् भन्ने चाहन्थ्यौँ । तर वास्तविकतालाई हामीले सामना गर्नुपर्छ । उनीलाई थाहा छ उनी जहाँ गए पनि म उनको सफलताको कामना गर्नेछु ।’
लापोर्टाले मेस्सी पुनः फर्किन सक्ने ‘झुटो आशा’ दिन नचाहने बताउँदै ‘छलफल समाप्त’ भएको जिकिर गरे । पेरिस सेन्ट जर्मेनले मेस्सीलाई अनुबन्ध गर्नका लागि छलफल सुरु गरिसकेको छ ।
बार्सिलोनामा रहँदा मेस्सीले क्लबका लागि ६७२ गोल गरे भने १० वटा ला लिगाको उपाधिको साथै चारवटा च्याम्पियन्स लिग र ७ वटा कोपा डेल रेको उपाधि पनि जितेका थिए । उनी ६ पटक बालोन डि’ओर विजेता पनि बने ।




