राष्ट्रपति कार्यालयले प्रदेश (१, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर (१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।
तीन प्रदेश प्रमुखको नियुक्त प्रक्रिया थालेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । ‘तीनवटा प्रदेशका लागि प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालिएको छ’, उनले जनतापाटीसँग भने, ‘उहाँहरू सबै उपत्यकाभित्र हुनुहुन्छ कि बाहिर, यसलाई हेरेर नियुक्ति प्रक्रियाअघि बढ्छ ।’
सरकारको निर्णयबारे जानकारी आएपछि नियुक्ति प्रक्रिया थालिएको उनले जानकारी दिए ।
प्रदेश प्रमुखमा सत्तारूढ दलहरूको भागबण्डा भएको छ। प्रदेश (१ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका खापुङ प्रदेश प्रमुख भएका हुन् भने कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका नेकपा माओवादी केन्द्रनिकट परियार यसअघि नै प्रदेश २ का प्रदेश प्रमुख भइसकेका छन् । त्यस्तै, सुदूरपश्चिममा नेपाली कांग्रेस नेता जोशी प्रदेश प्रमुख भएका छन्।




