न्युक्यासल युनाईटेडविरुद्धको सानदार जितसँगै इंंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले स्पष्ट ३ अंकको अग्रता बनाएको छ ।
आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गरेको हो । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे ।
पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्यो । सुरुआतबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्यक्यासललाई दबाब बनाउन दिएन । खेलको पाँचौ मिनेटमा रुवेनले अग्रता बनाए । २७औं मिनेटमा कनसेलोले २-० को दोब्बर अग्रता बनाए । मारेजले ६४ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज स्थितीमा पुर्याए भने स्टर्लिङले ८६ औं मिनेटमा गोल गर्दै ४-० अन्तरको जित दिलाए ।
जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
आइतबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग गोल रहित र लिभरपुल टोटनहमसँग २–२ गोलको बराबरीमा रोकियो । लण्डनमा भएको खेलमा टोटनहमले सुरुआती अग्रता बनायो । टोटनहमका फरवार्ड ह्यारी केन र हङ मिन सनले १-१ गोल गरे । लिभरपुलका लागि डियगो जोटा र आन्द्रे रोबर्टसनले १-१ गोल गरे ।
खेलको १३औँ मिनेटमा केनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए । ३५औँ मिनेटमा डिअगोले लिभपुरलाई बराबरीमा ल्याए भने ६९औँ मिनेटमा रोबर्टसनले भ्रमणकारी टोली लिभरपुललाई २-१ को स्थितिमा ल्याए । हार उन्मुख रहेको टोटनहमका लागि सनले ७४औँ मिनेटमा गोल गर्दे २-१ को बराबरीमा ल्याए । बराबरीसँग लिभरपुल उपाधि दौडमा ३ अंकले पछि परेको छ ।
चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो ।




